अब विद्यालय गएरै विद्यार्थीले पढ्न पाउने




सरकारले विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । योसँगै अब कोरोना भाइरस (कोभिड-१९) संक्रमण कम फैलिएको क्षेत्रका विद्यालय सञ्चालनका लागि ढोका खुलेको छ । विद्यालयमा सुरक्षित पठनपाठनका लागि शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारीसमेत गरेको छ ।स्थानीय तहलाई दिएको अधिकार र यो निर्देशिका जारी भएसँगै कोरोना महामारीकै बीचमा बालबालिकाले विद्यालय गएर पढ्न पाउने बाटो खुलेको छ । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गतवर्ष चैतदेखि गरेको लकडाउनका कारण सबै विद्यालय बन्द छन् ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै चैत ११ गतेदेखि लकडाउन गर्नु अघि नै सबै विद्यालय चैत ५ गतेबाट बन्द गरेको थियो । ग्रामीण क्षेत्रका केही–केही विद्यालय सञ्चालनमा आए पनि सहरी क्षेत्रका विद्यालय ठप्प छन् । शिक्षा मन्त्रालयले १२ साउनको मन्त्रिपरिषद् निर्णय अनुसार विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा संक्रमणको अवस्था मूल्यांकन गरेर विद्यालय खोल्न र बन्द गर्न सकिने उल्लेख गरिएको छ । मन्त्रालयले तयार पारेको ढाँचामा सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।ढाँचामा देशभरका सबै सार्वजनिक तथा निजी विद्यालय सञ्चालनको तयारी तथा न्यूनतम क्रियाकलापको खाका प्रष्टसँग उल्लेख छ ।

विद्यालय सञ्चालनका विकल्प

– मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा विद्यालय सञ्चालनका लागि विभिन्न विकल्प दिइएको छ । विद्यार्थीको भेटघाटलाई कम गर्न सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने विकल्प ढाँचामा राखिएको छ । दोस्रो विकल्पमा अलग-अलग समय (सिफ्ट)मा विद्यालयमा अलग-अलग कक्षाका विद्यार्थीलाई पढाउन सकिने ढाँचालाई मन्त्रालयले राखेको छ । त्यसैगरी संक्रमणको जोखिमबाट बच्न कक्षा सञ्चालनको अवधि छोट्याउने विकल्पसमेत मन्त्रालयले दिएको छ ।कोरोना जोखिमको अवस्थालाई हेरेर तल्लो कक्षालाई पहिले र माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले पढाउने भन्ने निर्धारण गर्ने, जिम्मेवारी मन्त्रालयले विद्यालयलाई नै दिएको छ ।बारको आधारमा पालैपालो कक्षा सञ्चालन गर्ने वा हप्ताको केही दिनमात्र विद्यालय सञ्चालन गर्ने मन्त्रालयको ढाँचामा उल्लेख गरिएको छ ।त्यसैगरी एउटै कक्षामा धेरै विद्यार्थी भए उनीहरुलाई फरक सिफ्ट वा फरक दिनमा पालैपालो पढाउने विकल्प मन्त्रालयले ढाँचामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *