टी-१० मा कुशल मल्लको डेब्यू, तोडियो सन्दीपको कीर्तिमान

काठमाडौं, २४ माघ : यूएईमा जारी टी-१० लिगमा तेस्रो स्थानका लागि भइरहेको खेलमा टिमआबुधाबीविरुद्ध कलन्दर्सले टस जितेर बलिङ रोजेको छ । आबुधाबी र कलन्दर्सबीचको खेल ७ बजेदेखि सुरु हुँदैछ ।

यसअघि लगातार ८ खेलमा मौका नपाएका नेपाली युवा क्रिकेटर कुशल मल्लले आज भने प्लेइङ-११ मा अवसर पाएका छन् । टी-१० लिगमा उनको यो पहिलो म्याच हो । आज क्रिस गेललाई भने प्लेइङ-११ मा समावेश गरिएको छैन ।पहिलो एलिमिनेटरमा आबुधाबीसँग पराजित भएपछि कलन्दर्स प्लेअफमै रोकिएको थियो । आबुधाबी गएराति भएको खेलमा दोस्रो एलिमिनेटरमा नर्थन वारियर्ससँग पराजित भएपछि तेस्रो स्थानका लागि कलन्दर्सविरुद्ध खेल्न लागेको हो ।

कुशलले रचे इतिहास

टी-१० लिग डेब्यूसँगै कुशलले नेपालका लागि इतिहास रचेका छन् । उनले कम उमेरमा विदेशी लिगमा डेब्यू गर्ने नेपाली खेलाडी बन्दै इतिहास रचेका हुन् ।
कुशलको उमेर अहिले १६ वर्ष छ । हालसम्म नेपालमा कम उमेरमा विदेशी लिग खेल्ने नेपाली क्रिकेटरको कीर्तिमान लेगस्पिनर सन्दीप लामिछानेको नाममा छ । उनले १२ मे २०१८ मा दिल्ली डेयरडेविल्सबाट खेल्दै आईपीएल डेब्यू गरेका थिए ।

सन्दीपले १७ वर्षको उमेरमा आईपीएल डेब्यू गरेका थिए । डेब्यू म्याचमा उनले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध चार ओभरमा २५ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए ।सन्दीपले आईपीएल डेब्यू म्याचमा पार्थिव पटेल (६ रन) को विकेट लिएका थिए । आज कलन्दर्सविरुद्ध डेब्यू गर्ने मौका पाएसँगै सन्दीपको नाममा रहेको कम उमेरमा विदेशी लेग डेब्यू गर्ने खेलाडीको कीर्तिमान कुशलले भंग गरेका छन् ।

यही सिजनमा अर्का दुई अलराउन्डर सोमपाल कामी र करण केसीले पनि डेब्यू गरेका थिए । सोमपालले मराठा अरेबियन्स र करणले पुणे डेभिल्सबाट टी-१० लिगमा डेब्यू गर्ने अवसर पाएका थिए ।दुवै खेलाडीले ६/६ म्याच खेल्ने मौका पाए । सोमपालले ६ म्याचमा तीन र करणले ६ खेलमा एक विकेट लिए । दुवै खेलाडीको टिम ‘प्लेअफ’मा भने पुग्न सफल भएनन् ।

आबुधाबीको प्लेइङ-११ : पल स्टर्लिङ, बेन डकेट, नजीबुल्लाह जाद्रान, ल्यूक राइट (कप्तान), जेमी ओभरटन, लियोनार्डो जुलियन, रोहन मुस्तफा, कुशल मल्ल, कार्तिक मयप्पन, टम हेल्म र ओबेड म्याकोय ।कलन्दर्सको प्लेइङ-११ : शार्जील खान, डानियल बेलड्रममण्ड, सोहेल अख्तर (कप्तान), बेन डंक, समित पटेल, फय्याज अहमद (विकेटकीपर), दानियल अहमद, सोहेल तनवीर, अली खान, खुर्शीद अनवर र मोहम्मद जाहिद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *