बाँकेमा एकैदिन एती धेरै संक्रमितको निधन, को हुन् उनीहरु ?

बाँकेमा एकैदिन एती धेरै संक्रमितको निधन, को हुन् उनीहरु ?

नेपालगन्ज । बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै ज्यान गएको छ । बाँके राप्तीसोनारी गाउँपालिका ८, शमशेरगन्जका ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका १, कैलालीका ५६ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका १० दाङका २० वर्षीया महिला र तुलसीपुर ५, दाङका ७६ वर्षका पुरुषको उपचारकै क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका शमशेरगन्जका ४८ वर्षीय पुरुषको शुक्रबार साँझ ५:२० बजे निधन भएको हो । त्यस्तै दाङका ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ ६:४० बजे उपचारकै क्रममा ज्यान गएको थियो भने कैलालीकी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे र दाङकी २० वर्षीया महिलाको दिउँसो ३:२० बजे निधन भएको हो ।

संक्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आईसीयूमा उपचारकै क्रममा ज्यान गएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारका क्रममा ज्यान जानेको संख्या २७ पुगेको छ भने बाँकेका ३५ संक्रमितको उपचारको क्रममा ज्यान गइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *